FAQs Complain Problems

शिक्षक दरबन्दी मिलानलाई व्यवस्थित बनाउन बेसीशहर नगरपालिकाको पहल, सरोकारवालासँग माग्यो सुझाव

बेसीशहर, २०८२ कार्त्तिक १३ गते

लमजुङको बेसीशहर नगरपालिकाले नगरभित्रको शिक्षक दरबन्दी मिलानलाई वैज्ञानिक, पारदर्शी र व्यवस्थित बनाउन सरोकारवालाहरूसँग छलफल तथा सुझाव संकलन सुरु गरेको छ। यसै क्रममा नगरपालिकाले आज विभिन्न पेशागत शिक्षक संघ-संगठनका पदाधिकारीहरूसँग दरबन्दी मिलानको मापदण्डका विषयमा केन्द्रित रहेर छलफल गरेको हो ।

नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख पद्मा गुरुङ र प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले सरोकारवालाहरु सँग सुझाव ग्रहण गर्नुभएको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख अर्यालले शिक्षक-विद्यार्थी अनुपात, विषयगत आवश्यकता र भौगोलिक अवस्थालाई सन्तुलनमा राखेर दरबन्दी मिलान गरिने बताउनुभयो। उहाँले भन्नुभयो, "हाम्रो मुख्य लक्ष्य नगरको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नु हो। यसका लागि सबैको अपनत्व हुने गरी न्यायोचित र सर्वस्वीकार्य मापदण्ड बनाएर अघि बढ्छौँ।"

छलफलमा शिक्षक संघ-संगठनका प्रतिनिधिहरूले दरबन्दी मिलान गर्दा शिक्षकको पेशागत सुरक्षा, ज्येष्ठता, विद्यालयको वास्तविक आवश्यकता र विद्यार्थी संख्यालाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले कुनै पनि शिक्षकलाई मर्का नपर्ने र विद्यालयको पठनपाठनमा समेत सकारात्मक प्रभाव पर्ने गरी मापदण्ड तयार गर्न नगरपालिकालाई सुझाव दिएका छन् ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य राजु थापा, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका महासचिव शिव अधिकारी, नेपाल शिक्षक संघ बेसीशहरका अध्यक्ष एकदेव घिमिरे, नेपाल राष्ट्रिय शिक्षक संगठन बेसीशहरका अध्यक्ष विरेन्द्र रिमाल र अखिल नेपाल शिक्षक संगठन (क्रान्तिकारी) बेसीशहरका अध्यक्ष गमबहादुर दनाई लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्राप्त सुझावहरूलाई समेटेर छिट्टै दरबन्दी मिलान सम्बन्धी मापदण्ड तयार पारी कार्यान्वयन प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ। यो पहलले नगरको शैक्षिक प्रणालीमा सकारात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।